नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता महेश्वर दाहालले पार्टीको विधि र जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गर्दै केन्द्रबाट उम्मेदवार तोकिए आफू विद्रोहमा उत्रिने चेतावनी दिएका छन्।
सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार चयनको विषयमा टिप्पणी गर्दै दाहालले स्थानीय कमिटी र कार्यदलले सर्वसम्मत रूपमा गरेको निर्णयविपरीत केन्द्रबाट जबर्जस्ती उम्मेदवार लादिए त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारे। उनले आवश्यक परे स्वतन्त्र उम्मेदवारी दिने संकेतसमेत गरेका छन्।
“सम्बन्धित कमिटीले गरेको निर्णयभन्दा बाहिर गएर ‘जस्केलाबाट’ कोही उम्मेदवार आयो भने त्यो मान्य हुँदैन,” दाहालले भने।
उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने तयारी भइरहेको बताउँदै भेटमा पनि यही असन्तुष्टि राख्ने जानकारी दिए।
टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै दाहालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि कडा अभिव्यक्ति दिएका छन्। उनले लेखेका छन्,
“हामीलाई फेरि घुँडा टेक्न भनिँदैछ। इतिहास उभिनेहरूको हो। हामी अब उठ्नेछौँ।”
नेकपाले सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ स्थानीय पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव हरिबोल गजुरेल र महेश्वर दाहालको नाम सिफारिस गरेको थियो।






















































