गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको एक नयाँ अन्तर्राष्ट्रिय अध्ययनले पुष्टि गरेको छ। यस अनुसन्धानले गर्भवती महिलाले पारासिटामोल सेवन गर्दा बच्चामा अटिजम वा विकाससम्बन्धी समस्या देखिने दाबीलाई आधारहीन ठहर गरेको छ।
‘द ल्यान्सेट’ नामक प्रतिष्ठित चिकित्सा पत्रिकामा प्रकाशित अध्ययनअनुसार पारासिटामोलको प्रयोगसँग बालबालिकामा अटिजम वा विकास अवरोधको जोखिम बढ्ने कुनै वैज्ञानिक प्रमाण फेला परेको छैन। बीबीसीका अनुसार उक्त अध्ययनमा पारासिटामोल प्रयोग गर्ने र नगर्ने आमाबाट जन्मिएका बालबालिकाबीच तुलना गरिएको थियो।
मुख्य अध्ययनकर्ता तथा प्रसूति विशेषज्ञ प्रोफेसर आस्मा खलीलले उपलब्ध तथ्याङ्कको विश्लेषण गर्दा पारासिटामोलले अटिजमको जोखिम बढाउँछ भन्ने निष्कर्ष नआएको स्पष्ट पार्नुभएको छ। चिकित्सकको सल्लाह र निर्देशनअनुसार प्रयोग गरिएमा गर्भावस्थामा पारासिटामोल सुरक्षित औषधि रहेको उहाँको भनाइ छ।
यसअघि गएको वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भवती महिलाले पारासिटामोल प्रयोग गर्नु नहुने अभिव्यक्ति दिएका थिए। तर नयाँ अध्ययनले उक्त दाबीलाई खण्डन गरेको छ।
अनुसन्धानमा प्रत्यक्ष संलग्न नभएका अन्य चिकित्सा विशेषज्ञहरूले पनि अध्ययनको निष्कर्षलाई सकारात्मक रूपमा लिएका छन्। नेपालमा पनि दुखाइ, ज्वरो र सामान्य रुघाखोकीमा पारासिटामोल व्यापक रूपमा प्रयोग हुने औषधि हो। यद्यपि गर्भावस्थामा पारासिटामोलसहित कुनै पनि औषधि सेवन गर्नु अघि चिकित्सकको सल्लाह लिनु आवश्यक रहेको स्वास्थ्य विशेषज्ञहरूले सुझाएका छन्।






















































