राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि, सिंहदरबारमा बैठक

राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सिंहदरबारस्थित वैकल्पिक व्यवस्थामा सञ्चालन गरिँदैछ।

अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

अधिवेशनको तयारीस्वरूप अध्यक्ष दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको थियो। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा आज बिहान ११ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि अगाडि बढाएको छ। आयोगका अनुसार १९ सदस्यका लागि हुने निर्वाचनमध्ये एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभामा नयाँ सदस्य आउने चरणमा रहेकाले यो अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.