हेटौंडामा ‘ज्ञानदीप रजत महोत्सव–२०८२’: शिक्षा, खेलकुद र संस्कृतिको त्रिवेणी

हेटौंडामा अवस्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको संयुक्त आयोजनामा विद्यालयको २५औँ वार्षिकोत्सवको अवसर पारेर ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुने भएको छ। महोत्सवअन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू समेटिएका छन्।

आयोजकका अनुसार महोत्सवमा मकवानपुर जिल्लास्तरीय छात्रा वक्तृत्वकला प्रतियोगिता, हेटौंडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिता तथा नगरस्तरीय हाजिरीजवाफ, चित्रकला र निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

महोत्सवमा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पनि प्राथमिकता दिइएको छ। अभिभावक तथा सेयर सदस्यहरूबीच युगल ब्याडमिन्टन प्रतियोगिता, ज्ञानदीप खेलकुद सप्ताह, रक्तदान कार्यक्रम तथा विपन्न ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रमसमेत समावेश गरिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने विशेष कार्यक्रम नै महोत्सवको मुख्य आकर्षण रहनेछ। पहिलो दिन समुद्घाटन समारोहसँगै शैक्षिक प्रदर्शनी, फुड स्टल, स्वास्थ्य शिविर तथा विविध सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ। दोस्रो दिन सांस्कृतिक कार्यक्रम र प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिनेछ भने तेस्रो दिन समापन समारोह, सम्मान कार्यक्रम र विशेष सांस्कृतिक प्रस्तुति आयोजना हुने जनाइएको छ।

रजत महोत्सवका सम्पूर्ण कार्यक्रम सञ्चालनका लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मूल समारोह समितिले महोत्सवलाई सफल र स्मरणीय बनाउन सम्पूर्ण सरोकारवाला निकाय, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.