त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर सोमबार साँझ तनावग्रस्त बनेको छ। विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले विश्वविद्यालय प्रशासनको निर्णयविरुद्ध मसाल जुलुस निकालेको हो।
मानविकी तथा समाजशास्त्र संकायअन्तर्गतका विभिन्न विभागमा शुल्क समायोजनको माग गर्दै गरिएको तालाबन्दी प्रशासनले सहमतिबेगर खोलेपछि विद्यार्थी आन्दोलित भएका हुन्। सहमतिविना ताला खोलेको भन्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्दै मसाल जुलुस निकालेका थिए।
जुलुसका क्रममा प्रदर्शनकारी विद्यार्थीहरूले त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारको तस्बिर दहनसमेत गरेका छन्। उनीहरूले पूर्वसहमति अनुसार मानविकी तथा समाजशास्त्र संकायअन्तर्गतका चार विभागमा शुल्क समायोजन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
त्यसैगरी, विश्वविद्यालयका सम्पूर्ण विभागहरूको आवश्यकता र सम्भाव्यताको मूल्याङ्कन गरी बिहान र दिउँसो दुवै सत्रमा कक्षा सञ्चालन गर्नुपर्ने माग पनि विद्यार्थी संगठनले अघि सारेको छ। माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।






















































