बालेन शाहको सामाजिक सञ्जालमा गरिएको टिप्पणी निर्वाचन बहसको केन्द्रमा पुगेको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै गरिएको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको हो।
धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा दायर गरेको उजुरीमा बालेन शाहको अभिव्यक्ति तथ्यहीन, घृणा र द्वेष फैलाउने प्रकृतिको रहेको तथा निर्वाचन आचारसंहिता विपरीत भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले निष्पक्ष र स्वतन्त्र निर्वाचन वातावरणमा गम्भीर असर पार्न सक्ने भन्दै आवश्यक कारबाहीको मागसमेत गरिएको छ।
उजुरीअनुसार एमाले अध्यक्ष ओलीले केही समयअघि राजनीतिक दलका शीर्ष नेताबीच पारदर्शी, बौद्धिक र मर्यादित बहसको प्रस्ताव सार्वजनिक रूपमा अघि सारेका थिए। उक्त प्रस्तावको प्रतिक्रियामा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले सामाजिक सञ्जालमार्फत ओलीमाथि ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता गम्भीर आरोप लगाएका थिए।
उजुरीकर्ता तिमिल्सिनाले प्रमाण वा अदालतको फैसलाविना यस्ता आरोप सार्वजनिक गर्नु लोकतान्त्रिक बहसको मर्मविपरीत भएको बताएका छन्। यस्तो अभिव्यक्तिले व्यक्तिको मानमर्दन गर्ने, मतदातालाई भ्रमित पार्ने र निर्वाचन प्रक्रियालाई नकारात्मक दिशामा लैजाने खतरा रहेको उजुरीमा उल्लेख गरिएको छ।






















































