फागुन २१ लक्षित गर्दै कांग्रेस मकवानपुर सक्रिय, ११ जना एमालेसहित अन्य दलबाट पार्टी प्रवेश

नेपाली कांग्रेस मकवानपुरले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ता भेटघाट अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा मकवानपुरको भैंसेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उम्मेदवारहरूले कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

छलफलमा बोल्दै नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पार्टीले समावेशितालाई उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले नेपाली कांग्रेस सबै जाति, धर्म र समुदायको सम्मान गर्ने पार्टी भएको उल्लेख गर्दै युवा शक्तिको प्रतिनिधित्वका रूपमा गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको बताउनुभयो।

त्यस्तै, नेपाली कांग्रेस मकवानपुरका सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले अब मुलुकको नेतृत्व युवा पुस्ताको काँधमा आएको धारणा राख्नुभयो। अन्तर्राष्ट्रिय रूपमा समेत सर्वस्वीकार्य नेता गगन थापालाई प्रधानमन्त्री बनाउन कांग्रेस चुनावी मैदानमा उत्रिएको उहाँको भनाइ थियो। जनतालाई सुख–शान्तिको अनुभूति गराउन र तीव्र विकासका लागि गगन थापाको नेतृत्व अपरिहार्य भएको लामाले बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा दाहालले मकवानपुरको समग्र विकासका लागि कांग्रेस उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गर्नुभयो।

सो कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार शर्मिला श्रेष्ठ, जिल्ला सचिव ईश्वर पाठक, जिल्ला कार्यसमिति मकवानपुरका अनुशासन समिति संयोजक प्रभात दाहाल, भिमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि निलम देवकोटा, निर्वाचन परिचालन मूल समारोह समितिका सदस्य यतिराज सापकोटालगायतको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस वडा नम्बर ५ का सभापति अंकित पुडासैनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेसहित विभिन्न दल परित्याग गरी ११ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.