हिउँदे वर्षाले फेरि लय लिँदै मौसम : सोमबार अर्को प्रणाली सक्रिय हुने पूर्वानुमान

देशका विभिन्न भू–भागमा वर्षा र हिमपात गराएर सक्रिय बनेको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएसँगै मौसम क्रमशः खुल्दै गएको छ। तर यो राहत छोटो समयको मात्रै हुने देखिएको छ। मौसमविदहरूले आउँदो सोमबार फेरि नयाँ प्रणाली सक्रिय भई हिजोजस्तै वर्षा गराउने सम्भावना रहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक तथा मौसमविद विनोद पोखरेलका अनुसार सोमबारदेखि अर्को पश्चिमी प्रणाली नेपाल प्रवेश गर्नेछ। “यो प्रणालीले देशका धेरै भागमा पुनः वर्षा गराउने सम्भावना छ,” उनले बताए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा सामान्य वर्षा र हिमपात भए पनि अधिकांश स्थानमा मौसम खुल्ने छ। यद्यपि बिहान काठमाडौँ उपत्यकासहित तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ।

हिजो काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा वर्षा भएको थियो। मधेश र कोशी प्रदेशबाहेक अन्य प्रदेशमा पानी परेको तथा पश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको महाशाखाले जनाएको छ। बागमती प्रदेशसहित पश्चिमका धेरै जिल्लामा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भए पनि लामो खडेरीपछि परेको हिउँदे वर्षाले किसानलाई भने उत्साहित बनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।

लामो समयदेखि पानी नपर्दा सुक्खापन बढ्दै गएको अवस्थामा परेको हिउँदे वर्षाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर मौसमविदहरूले फेरि सक्रिय हुन लागेको प्रणालीका कारण चिसो बढ्ने र दैनिक गतिविधिमा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.