सरकारले आगामी फागुन एक गतेदेखि नेपाल प्रहरीको रासन स्केलमा वृद्धि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको रासन बृद्धि गर्ने निर्णय गरेको हो ।
हाल उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १६ आइटम बराबर २०१ रुपैयाँ पाउने गरेका छन् । गृहले त्यसलाई बढाएर सशस्त्र प्रहरी बल र नेपाली सेनाको सरह बनाउनुपर्ने प्रस्ताव गरेको थियो ।
नेपाली सेनाका सकलदर्जाले अहिले २४ र सशस्त्र प्रहरीले १९ आइटम रासन पाउँदै आएका छन् । २०७८ सालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता १५ प्रतिशत वृद्धि भएको थियो ।
नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि राज्यलाई सालबसाल १ अर्ब १७ करोड बराबर दायित्व थप भएको थियो । नेपाल प्रहरीमा रासन भत्तामा मात्र वार्षिक ६ अर्ब भन्दा बढी खर्च हुने गरेको छ।
नेपाल प्रहरीले कर्मचारीलाई भत्तामा नगद नै दिने गरेको छ। सशस्त्र प्रहरीले भने रासन किनेर दिने गरेको छ । नेपाली सेनाले ब्यारेकमा मेस नै सञ्चालन गरेको छ।
सबैभन्दा धेरै नेपाल प्रहरी खटिने भए पनि सशस्त्र प्रहरीको तुलनामा ४६ जिल्लामा कम रासन स्केल छ। नेपाली सेनाको हकमा झनै कम छ ।
केही जिल्लामा सशस्त्रसँग नेपाल प्रहरीको बराबर रहेको देखिन्छ । त्यसमा तराईका केही जिल्लाहरू पर्छन्। कञ्चनपुरमा सशस्त्र प्रहरीको २ सय ४ रुपैयाँ दैनिक स्केल हुँदा नेपाल प्रहरीको १ सय ९० रुपैयाँ छ।
सशस्त्र प्रहरीले भने सेन्टर मेस सञ्चालन गर्दै आएको छ । सेन्टर मेसमा हप्तामा ४ छाक मासु, अण्डाकरी, सलाद र साग उपलब्ध गराइन्छ ।
काठमाडौं उपत्यकामा सशस्त्रका जवानले दैनिक २०३ रुपैयाँ बराबरको रासन पाउँछन् । जिल्ला दररेट अनुसार मुगुमा ३ सय भन्दा धेरै रासन रकम दिइन्छ । तर, महँगीअनुसार मुगुमा अपुग रहेको सशस्त्रका अधिकारीहरू बताउँछन् ।






















































