साफ १९ वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले सशक्त पुनरागमन गर्दै दोस्रो खेलमा भूटानलाई पराजित गरेको छ। पोखरा रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले भूटानलाई २–१ गोलले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको नेपालका लागि यो जित निकै महत्वपूर्ण रह्यो। यता भूटान भने आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग १२–० को फराकिलो हार बेहोरेपछि लगातार दोस्रो खेलमा पनि पराजित भयो।
आजै सम्पन्न अर्को खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भयो। यससँगै प्रतियोगिताको समूह चरण थप रोचक बन्दै गएको छ।
हालसम्म सबै टोलीले दुई–दुई खेल खेलेका छन्। लगातार दुई खेल जितेको बङ्गलादेश ६ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ३–३ अङ्क जोडेको नेपाल र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने अङ्कविहिन भूटान तालिकाको पुछारमा छ।
अब नेपालले समूह चरणको आफ्नो अन्तिम तथा तेस्रो खेल पर्सि बुधवार बङ्गलादेशसँग खेल्नेछ। सिङ्गल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा अङ्क तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
महत्वपूर्ण खेलअघि नेपालका लागि बङ्गलादेशविरुद्धको सामना निर्णायक मानिएको छ, जहाँ जित वा बराबरीले टोलीलाई उपाधि होडमा बलियो बनाउनेछ।
























































