हेटौंडा। हेटौंडा–५ स्थित श्री बालज्योति माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा भव्य स्वर्ण जयन्ती समारोह आयोजना गरिरहेको छ। माघ १९ गतेदेखि सुरु भएको समारोह माघ २८ गतेसम्म चल्नेछ, जसअन्तर्गत शैक्षिक, सामाजिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालनमा छन्।
समारोहको दोस्रो दिन आज विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागितामा साइकल र्याली सम्पन्न भएको छ। विद्यालय परिसरबाट सुरु भएको र्याली क्याम्पा स्टेडियमसम्म पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। स्वर्ण जयन्तीबारे समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको विद्यालयले जनाएको छ।
यसअघि माघ १९ गते सांस्कृतिक झाँकीसहितको प्रभातफेरीपछि पिप्ले रंगशालामा उद्घाटन समारोह गरी स्वर्ण जयन्तीको औपचारिक शुभारम्भ गरिएको थियो। आयोजकका अनुसार माघ २१ गते सार्वजनिक स्थल सरसफाइ तथा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिनेछ।
त्यस्तै माघ २३ र २५ गते विद्यालय परिसरमा विद्यार्थी केन्द्रित विभिन्न खेलकुद कार्यक्रम र शिक्षक भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। माघ २४ गते विद्यालय सभा हलमा रक्तदान कार्यक्रम आयोजना हुने तय भएको छ।
पूर्व विद्यार्थीहरूलाई लक्षित गर्दै माघ २६ गते पुरुषतर्फ घैँटो फुटाउने तथा महिलातर्फ म्युजिकल चेयर प्रतियोगिता आयोजना गरिनेछ। सोही दिन विभिन्न विधाका पुरस्कार वितरण पनि गरिने आयोजकले जानकारी दिएका छन्।
माघ २७ गते स्वर्ण जयन्ती तयारी बैठक, अभिभावक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमसँगै अभिभावक खेलकुद कार्यक्रम आयोजना हुनेछ। समारोहको औपचारिक समापन माघ २८ गते विद्यालय प्राङ्गणमा हुने विद्यालय अतिरिक्त संयोजक तथा कार्यक्रम संयोजक अमित क्षेत्रीले जानकारी दिए।
आज सम्पन्न साइकल र्याली कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्रनाथ पोखरेल सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, निवर्तमान नगर प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिबहादुर महत, वडा नं. ५ का अध्यक्ष सुशील घिमिरे र वडा नं. ४ का अध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति रहेको थियो।






















































