बैतडी । बैतडीमा गएराति भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा घाइते भई डडेलधुरा अस्पतालमा उपचाररत पाँच जनाको थप मृत्यु भएपछि मृतक संख्या १३ पुगेको हो ।
प्रहरीका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २७ वर्षीय दीपक जोशी र ४५ वर्षीय किसनदत्त जोशी रहेका छन् । यस्तै, बझाङ केदारस्यु गाउँपालिका–७ का २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ का १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ ।
यसअघि घटनास्थलमै ज्यान गुमाउनेमा बित्थडचिर गाउँपालिका–७ कै ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन् । अन्य मृतकमा बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट तथा जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् ।
पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनापछि राति नै ८ जनाको मृत्यु पुष्टि भएको थियो भने थप ५ जनाको उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङस्थित देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । थप उपचार आवश्यक परेका ५ जनालाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जन्तीमा रहेका बेहुला–बेहुली भने अर्को सवारीसाधनमा रहेकाले उनीहरू सकुशल रहेको जानकारी दिइएको छ ।
















