हेटौंडामा पछिल्लो राजनीतिक घटनाक्रमले तातो बहस सिर्जना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै सडक प्रदर्शन गरेको हो।
पार्टीका नेता तथा कार्यकर्ताहरूले र्याली निकाल्दै वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमाथि देशलाई अस्थिरता, द्वन्द्व र मुठभेडतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाए। प्रदर्शनका क्रममा नाराबाजीसमेत गरिएको थियो।
यसैबीच, एमालेका पूर्व प्रमुख सचेतक तथा पूर्व सांसद महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत सरकारको कडा आलोचना गरेका छन्। उनले वर्तमान सरकारले दुई तिहाइ बहुमतको दम्भ देखाउँदै प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाए। उनका अनुसार यस्तो गतिविधिले मुलुकलाई दीर्घकालीन अस्थिरतातर्फ धकेल्ने खतरा बढाएको छ।
त्यसैगरी, एमाले मकवानपुरका कार्यबाहक अध्यक्ष हिदम लामाले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गरेका छन्। उनले सरकारको कदमलाई आपत्तिजनक र राजनीतिक प्रतिशोध प्रेरित भएको बताएका छन्।






















































