गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आज (चैत १९)देखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ।
संघीय संसद्अन्तर्गतको माथिल्लो सभा राष्ट्रियसभाको बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले चैत ५ गते प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले)का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच र एक स्वतन्त्र सांसद रहेका छन्।
सम्भावित कार्यसूची
आजको बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही अगाडि बढाउने प्रस्ताव प्रस्तुत गरिनेछ।
यसैगरी, बैठकमा दलीय आधारमा सदस्यहरूले आफ्नो मन्तव्य राख्ने कार्यक्रम पनि तय गरिएको छ। सभामुखले नियमावली अनुसार प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि निवेदन दिन समय निर्धारण गर्नेछन्।
त्यस्तै, गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकको अन्त्यमा संविधानसभा तथा संसद्का पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोरा प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।















































