काठमाडौं । नेपाल जेसीजले “प्रोजेक्ट संकल्प २०२६” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रम शुक्रबार र शनिबार काठमाडौंस्थित यलो प्यागोडा होटलमा आयोजना गरिएको थियो।
“एकताको संकल्प, रूपान्तरणको यात्रा” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वर्ष २०२६ का लागि मनोनित राष्ट्रिय पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब १५० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन सत्र नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली उपस्थित थिए। उनले युवाहरूसँग सहकार्य गर्दै राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा काम गर्न लगानी बोर्ड तयार रहेको बताए।
कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्षहरू राजेन्द्रराम श्रेष्ठ, फुलकुमार लालवानी र रविन पोखरेल तथा जेसीआई नेपाल फाउन्डेसनका अध्यक्ष विष्णु बरालको विशेष उपस्थिति रहेको थियो।
कार्यशालामा मनोनित पदाधिकारीहरूको भूमिका, जिम्मेवारी र अधिकारबारे जानकारी गराइएको थियो। साथै “Aim, Act, Achieve” अवधारणाअन्तर्गत लक्ष्य निर्धारण, कार्यान्वयन रणनीति र उपलब्धि हासिल गर्ने विषयमा छलफल गरिएको थियो।
अध्यक्ष कार्कीले “प्रोजेक्ट संकल्प २०२६” लाई सफल बनाउन सक्षम र प्रतिबद्ध टिम निर्माण गरिएको उल्लेख गर्दै कार्यशाला उपलब्धिमूलक भएको बताए।
कार्यक्रमले संगठनको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै युवाहरूलाई सक्रिय नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेको आयोजकको भनाइ छ।






















































