हेटौंडामा सम्पन्न नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर श्रेष्ठले प्रतिस्पर्धी दुर्गाराज श्रेष्ठलाई स्पष्ट मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
निर्वाचनमा कुल खसेको २१७ मतमध्ये वेदबहादुरले ६१.०५ प्रतिशत मत प्राप्त गरे भने दुर्गाराज श्रेष्ठले ३८.९५ प्रतिशतमा सीमित रहे।
अन्य पदहरूमा पनि नेतृत्व चयन भएको छ। जिल्ला/नगर उपाध्यक्षमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णकुमार गुप्ता विजयी भए। एसोसिएट उपाध्यक्ष पदमा कृष्णभक्त श्रेष्ठ सर्वसम्मत चयन हुँदा वस्तुगत उपाध्यक्षमा प्रेमहरि मैनाली निर्वाचित भए।
कोषाध्यक्ष पदमा धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्रबहादुर खत्रीले ९७ मत ल्याउँदै जित हात पारे।
कार्यकारिणी सदस्यहरूमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। जिल्ला/नगरतर्फ कृष्णमुरारी न्यौपाने, जयप्रकाश श्रेष्ठ, राजकुमार कँडेल, राजन कार्की र सनत थापा सर्वसम्मत चयन भए। एसोसिएटतर्फ उत्तम शर्मा ढकाल र नविन्द्र देव सिं विजयी हुँदा वस्तुगततर्फ ज्योतिरत्न बज्राचार्य र सदिश श्रेष्ठ निर्वाचित भएका छन्।
यससँगै महासंघको बागमती प्रदेश संरचनामा नयाँ टिम औपचारिक रूपमा नेतृत्वमा आएको छ।























































