हेटौँडामा जारी उपमेयर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि हेटौँडा–५ र हेटौँडा–१२ फाइनलमा आमनेसामने हुने भएका छन्। सोमबार सम्पन्न सेमीफाइनल खेलहरूमा दुबै टिमले प्रभावशाली जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन्।
दोस्रो सेमीफाइनलमा हेटौँडा–१२ ले हेटौँडा–१७ लाई २५–१५, २५–१७ र २५–१० को सोझो सेटमा हराउँदै सहज जित दर्ता गर्यो। त्यसअघि भएको पहिलो सेमीफाइनलमा हेटौँडा–५ ले हेटौँडा–९ माथि २५–२२, २५–१८ र २५–१२ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
यता पुरुषतर्फ भने सेमीफाइनल चरणका खेलहरू जारी छन्। फाइनल प्रवेशका लागि हेटौँडा–११ र हेटौँडा–१२ बीच प्रतिस्पर्धा हुने तय भएको छ भने अर्को खेलमा हेटौँडा–१८ र हेटौँडा–१९ आमनेसामने हुनेछन्।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ३० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १०/१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
हेटौँडा उपमहानगर खेलकुद विकास समितिको प्रायोजन र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय खेलकुद प्रतिष्ठानको आयोजनामा शनिबारदेखि सुरु प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १० वडाका टोली सहभागी छन्।






















































