सरकारले सेवाग्राहीलाई सहज बनाउन घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा १४ जिल्लामा विस्तार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय का अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालिकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीसहितका जिल्लामा सेवा कार्यान्वयनमा आइसकेको छ।
हुलाक सेवा विभाग मार्फत हालसम्म करिब ३१९ जनाको राहदानी सिधै घरसम्म पुर्याइएको मन्त्रालयले जनाएको छ। सेवा विस्तार गर्ने क्रममा अन्य जिल्ला प्रशासन कार्यालयहरूले पनि सेवाग्राहीको ठेगाना सङ्कलनलाई तीव्रता दिएका छन्।
राहदानीसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा पनि हुलाकको प्रयोग बढाइएको छ। मङ्गलबारसम्म २ लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकिएको जानकारी दिइएको छ।
विशेषगरी कास्की र मोरङमा भने सेवाग्राहीको घरमै लाइसेन्स पुर्याउने कामसमेत सुरु भइसकेको छ। यसले सरकारी सेवा पहुँचलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, हुलाक सेवा विस्तार अन्य क्षेत्रमा पनि अघि बढाइएको छ। मध्यपश्चिम विश्वविद्यालय का प्रश्नपत्र, उत्तरपुस्तिका र प्रमाणपत्र ढुवानी सुरु भइसकेको छ भने त्रिभुवन विश्वविद्यालय का शैक्षिक प्रमाणपत्र ढुवानीका विषयमा दोस्रो चरणको छलफल सम्पन्न भएको छ।
त्यसैगरी नेपाल टेलिकम का सिमकार्ड घरमै पुर्याउने तयारी भइरहेको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमुना ढुवानीका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ।
सरकारी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन राहदानी विभाग र महालेखा नियन्त्रक कार्यालय बीच सफ्टवेयर प्रणाली एकीकरणको पहल पनि भइरहेको छ।
सरकारको १०० दिने कार्यसूचीअनुसार हुलाक सेवालाई ‘सरकारी कुरियर सेवा’को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार मन्त्रालयबीच समन्वय जारी रहेको बताइएको छ।






















































