मकवानपुरका स्थानीय केराले पायो बजार: किसानका लागि अवसर, उपभोक्ता मारमा

हेटौंडा — केरा आयातमा लगाइएको प्रतिबन्धले मकवानपुरका किसानलाई अप्रत्याशित रूपमा फाइदा पुर्‍याएको छ। बाहिरी केरा बजारमा कम भित्रिएपछि स्थानीय उत्पादनको माग बढेको छ, जसले किसानलाई उत्साहित बनाएको छ। तर यही अवस्थाले उपभोक्तालाई भने महँगो मूल्यको भार बोक्न बाध्य बनाएको छ।

हेटौंडा, मकवानपुरगढी, मनहरी, राक्सिराङ र बकैया क्षेत्रका किसानहरूले यस सिजनमा उत्पादनले सहजै बजार पाएको बताएका छन्। विगतमा भारतीय केरासँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेकोमा अहिले भने स्थानीय उत्पादन नै प्राथमिकतामा परेको उनीहरूको भनाइ छ।

मकवानपुरगढी–४ का किसान सोमप्रसाद दाहालका अनुसार पहिले उत्पादन बिक्री नहुँदा घाटा बेहोर्नुपर्थ्यो, तर अहिले माग उच्च भएकाले राहत महसुस भएको छ। किसानहरू अब आगामी सिजनमा खेती विस्तार गर्ने योजनामा छन्।

पछिल्ला वर्षहरूमा मकवानपुरमा केरा खेती व्यवसायिक रूपमा विस्तार हुँदै गएको छ। विशेष गरी मकवानपुरगढी, मनहरी र राक्सिराङ क्षेत्र यसका लागि सम्भावनायुक्त मानिन्छन्।

तर बजारमा आपूर्ति पर्याप्त नहुँदा मूल्य भने लगातार बढिरहेको छ। हेटौंडाका खुद्रा व्यवसायीहरूका अनुसार पछिल्ला साताहरूमा केराको भाउ उल्लेख्य रूपमा उकालो लागेको छ। मातातीर्थ औँसीजस्ता विशेष अवसरमा माग झन् बढ्दा मूल्य अझ चर्किएको छ।

उपभोक्ताहरू भने महँगीले चिन्तित छन्। दैनिक उपभोगमा पर्ने फलफूलमध्ये केरा पनि महँगो हुँदा किनमेलमा कटौती गर्नुपरेको गुनासो उनीहरूको छ। हेटौंडा–२ का रामप्रसाद घिमिरे भन्छन्, “पहिले सजिलै किन्ने केरा अहिले सोचेर मात्र किन्नुपर्ने भयो।”

व्यवसायीहरूका अनुसार आयातमा रोक लागेपछि आपूर्ति घटेको र माग बढेकाले मूल्य स्वतः वृद्धि भएको हो। केही स्थानमा भने अवैध रूपमा केरा भित्रिएको हुनसक्ने आशंका पनि गरिएको छ।

केरा आयात रोक्नुको मुख्य कारण ‘टीआर–४’ नामक रोगको जोखिम रहेको कृषि प्राविधिकहरू बताउँछन्। यस रोगले केरा खेतीलाई गम्भीर क्षति पुर्‍याउन सक्ने भएकाले सावधानी अपनाइएको हो।

किसानहरू यो निर्णयलाई अवसरका रूपमा लिइरहेका छन्। उनीहरूका अनुसार सरकारले उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरे स्थानीय उत्पादनले धेरै हदसम्म बजार धान्न सक्छ।

हालको अवस्थाले किसानलाई फाइदा र उपभोक्तालाई चुनौती दिएको देखिन्छ। अब सरकारको भूमिका मूल्य नियन्त्रण र स्थानीय उत्पादन प्रवर्द्धनबीच सन्तुलन कायम गर्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.