धेरै मानिस, विशेषगरी महिलाहरू, राति सुत्नुअघि कपालमा तेल लगाउने गर्छन्। यसरी तेल लगाएर रातभर छाड्दा कपाल लामो, बलियो र बाक्लो हुने विश्वास व्यापक छ। तर विज्ञहरूका अनुसार यो धारणा पूर्ण रूपमा सही होइन।
विज्ञहरू भन्छन्, कपालमा तेल लगाउनु लाभदायक भए पनि रातभर तेल लगाएर राख्नु आवश्यक छैन। तेलले कपाललाई नरम बनाउने, चमक बढाउने तथा बाहिरी तहलाई सुरक्षित राख्ने काम गर्छ, तर यसले कपालको वृद्धि प्रत्यक्ष रूपमा बढाउँछ भन्ने वैज्ञानिक प्रमाण छैन।
रातभर तेल लगाउँदा के हुन्छ ?
विज्ञहरूका अनुसार लामो समयसम्म टाउकोमा तेल रहँदा छालाका रन्ध्र (प्वाल) बन्द हुन सक्छन्। यसले फोहोर जम्मा हुने, ब्याक्टेरिया तथा फंगल संक्रमणको जोखिम बढ्ने सम्भावना रहन्छ। कतिपय अवस्थामा यसले कपाल झर्ने समस्या समेत निम्त्याउन सक्छ।
तेल लगाउने सही समय कहिले ?
विशेषज्ञहरूले कपाल धुनुभन्दा करिब ३० मिनेटदेखि एक घण्टाअघि तेल लगाउन सुझाव दिन्छन्। तेल कपालको लम्बाइ र रेसामा लगाउनु उपयुक्त मानिन्छ भने जरामा अत्यधिक तेल लगाउन नहुने उनीहरूको भनाइ छ।
चायाँ बढाउन सक्छ तेल ?
टाउकोमा धेरै समय तेल रहँदा मालासेजिया नामक फंगस बढ्न सक्ने विज्ञहरू बताउँछन्। यही फंगसका कारण चायाँ, चिलाउने समस्या तथा टाउकोको छालामा अन्य समस्या देखिन सक्छन्।
विशेषगरी धेरै तैलीय कपाल भएका व्यक्तिहरू, चायाँको समस्या भएका, टाउकोमा बिबिरा वा छालासम्बन्धी समस्या भएका व्यक्तिले रातभर तेल लगाएर राख्नबाट जोगिनुपर्ने सुझाव दिइएको छ। निधार, घाँटी वा ढाडमा डन्डीफोरको समस्या भएका व्यक्तिका लागि पनि रातभर तेल राख्नु उपयुक्त मानिँदैन।एजेन्सी
























