हेटौंडामा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै जाँदा बजाज ब्रान्डको नयाँ ‘विगो इभी अटो’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। तीन पाङ्ग्रे अटो क्षेत्रमा करिब एक दशकदेखि सक्रिय होराइजन अटो प्रालिले उक्त अटो बजारमा ल्याएको हो।
कम्पनीका संस्थापक सञ्चालक लालकाजीरत्न बज्राचार्यका अनुसार समयको माग, बढ्दो इन्धन मूल्य र वातावरणमैत्री यातायातप्रतिको आकर्षणलाई ध्यानमा राख्दै इभी अटो ल्याइएको हो। हेटौंडामा आयोजित कार्यक्रममा राजुरत्न बज्राचार्य, बिपिन पाण्डे र मनोज लामिछाने लगायत अटो व्यवसायीहरूको उपस्थिति रहेको थियो।
नयाँ ‘विगो इभी अटो’को मूल्य ९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। ग्राहकलाई सहज बनाउन ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट, शून्य प्रतिशत ब्याजदर र सरल किस्ता सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अटोमा तीन वर्षसम्मको वारेन्टी, सजिलै पाइने पार्ट्स, सहज सर्भिसिङ तथा चार्जिङ सुविधा रहेको छ। बजाजको यो विद्युतीय अटोले हेटौंडाको बजारमा राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।















































