मनहरी गाउँपालिका, वैशाख १८ — मनहरी गाउँपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआईक्यू+) समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेर उक्त समुदायको सशक्तीकरणका लागि पहल अघि बढाइएको हो।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्ने एलजीबीटीआईक्यू+ समुदायका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र आवश्यक विवरण दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ।
विवरण दर्ताका लागि गाउँपालिकाको सामाजिक विकास शाखामा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ। साथै, यस क्षेत्रमा क्रियाशील ‘फ्रेन्ड्स हेटौडा, मकवानपुर’ (हेटौडा–४) मार्फत पनि नाम दर्ता गर्न सकिने जनाइएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईका अनुसार यस कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तीकरण, समावेशी विकास र सामाजिक पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।















































