हेटौँडा — मकवानपुर जिल्लामा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरूको विवरण संकलन कार्य सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले गृह मन्त्रालयको निर्देशनपछि यो प्रक्रिया अघि बढाएको हो।
गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको छ। सोही निर्देशनअनुसार मकवानपुरमा पनि प्रारम्भिक चरणको काम थालिएको हो।
मन्त्रालयको परिपत्रपछि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अहिले जिल्लाभर कहाँ–कहाँ कति जग्गा अतिक्रमण भएको छ र त्यहाँ कस्ता संरचना निर्माण भएका छन् भन्ने तथ्याङ्क संकलन भइरहेको छ। पहिलो चरणमा विवरण तयार भएपछि मन्त्रालयको थप निर्देशनअनुसार अतिक्रमण हटाउने कार्ययोजना कार्यान्वयन गरिने बताइएको छ।
यस अभियानलाई प्रभावकारी बनाउन सुरक्षा व्यवस्था सहित सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ।















































