हेटौँडा–१५ मा २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर दुई दिने धार्मिक तथा आध्यात्मिक कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरिएको छ। बौद्ध शिक्षा तथा गुम्बा विकास समितिको आयोजनामा भएको कार्यक्रममा श्रद्धा, शान्ति र सहअस्तित्वको सन्देश फैलाइएको थियो।
कार्यक्रमअन्तर्गत बैशाख १७ गते मोलम प्रार्थना तथा दीप प्रज्ज्वलन गरिएको थियो भने दोस्रो दिन बैशाख १८ गते शान्ति पदयात्रा आयोजना गरियो। रातोमाटेबाट सुरु भएको पदयात्रा वडा परिक्रमा गर्दै नेमाहोइसेर गुम्बामा पुगेर विभिन्न धार्मिक विधिहरूसहित समापन गरिएको थियो।
कार्यक्रममा खेन्पो कासिदोर्जे घिसिङले धर्मदेशना दिँदै बुद्धका उपदेश, ज्ञान र शान्तिको मार्गबारे प्रकाश पारे। कार्यक्रममा हेटौँडा–१५ का वडा अध्यक्ष तथा समितिका संरक्षक सुनिल मुक्तान प्रमुख अतिथिका रूपमा सहभागी थिए भने संस्थाका अध्यक्ष कार्साङ योन्जनले सभापतित्व गरेका थिए।
हेटौँडा–१५ भित्रका धार्किलिङ, सङ्तोपाल्लि, टासिछेफेल, बेवाङ्कुसुम बुद्ध धर्म संघ, नेमाहोइसेर र पेमाहिइसेर गरी ६ गुम्बाहरूको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको लामा गुरु हर्कारत्न लामाले जानकारी दिए।
कार्यक्रममा सहभागीहरूलाई भगवान बुद्धको जीवन, दर्शन र शिक्षाबारे जानकारी गराइएको थियो। करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।
स्थानीय गुम्बाहरूले हरेक वर्ष पालैपालो यस्तो कार्यक्रम गर्दै आएका छन्। यस वर्ष नेमाहोइसेर गुम्बाले आयोजना गरेको कार्यक्रममार्फत बौद्ध धर्मप्रतिको चेतना र ज्ञान आदान–प्रदानमा थप टेवा पुगेको विश्वास गरिएको छ।















































