नेपाल पुलिस क्लब ले पहिलो पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब लाई सडन डेथमा ५–४ ले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।
निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलमा आर्मी १० खेलाडीमा सीमित भए पनि उत्कृष्ट प्रदर्शन गर्दै खेललाई पेनाल्टीसम्म पुर्याएको थियो। खेलको २८औँ मिनेटमा विमला विकले रातो कार्ड पाएपछि आर्मी दबाबमा परेको थियो।
पेनाल्टी सुटआउट निकै प्रतिस्पर्धात्मक बनेको थियो। सडन डेथमा इन्दिरा राईको प्रहार पुलिसकी गोलकिपर उषा नाथले बचाएपछि खेलको अवस्था बदलिएको थियो। त्यसपछि निर्णायक प्रहारमा सवीना चौधरीले गोल गर्दै पुलिसलाई जित दिलाइन्।
पुलिसका लागि रेखा पौडेल, पूजा राना, समीक्षा घिमिरे र विर्सना चौधरीले गोल गरेका थिए। आर्मीका तर्फबाट दीपा शाही, अनिता लम्जेल, चन्द्रा भण्डारी र हिमा चौधरीले गोल गर्दा अञ्जना थुलुङ राईको प्रहार भने क्रसबारमा लागेर फर्किएको थियो।
प्रतियोगिताको विजेता पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता आर्मीले ३ लाख रुपैयाँमा चित्त बुझायो। पुलिसकी निशा सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उषा नाथ उत्कृष्ट गोलकिपर चुनिँदा रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन्।
फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ समीक्षा घिमिरे घोषित भइन्।















































