हेटौँडा, मकवानपुर — संघीय सरकारले सुकुम्बासी बस्ती हटाउने तयारी गरेको भन्दै मकवानपुरका भूमिहीन सुकुम्बासीहरूले विरोध जनाएका छन्। उनीहरूले आफूहरूलाई उठिबास लगाउनुको सट्टा व्यवस्थित बसोबासको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
सोमबार बिहान हेटौँडा–११ थानाभर्याङबाट र्याली निकाल्दै उनीहरू नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। सुकुम्बासी समुदायले आफूहरूको बस्ती भत्काउने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै समाधानमुखी व्यवस्थापनको माग राखेका छन्।
उनीहरूले मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्। यता, जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशनअनुसार सुकुम्बासीहरूको लगत संकलन कार्य भइरहेको जनाएको छ।
देशभरका सुकुम्बासीको विवरण संकलन गर्ने गृह मन्त्रालयको निर्देशनपछि मकवानपुरका सुकुम्बासी समुदायमा चिन्ता र आशंका बढेको छ।














































