मकवानपुरमा बसेको बागमती प्रदेश सरकारको बैठकले यस वर्षको ‘गणतन्त्र दिवस २०८३’लाई तीन दिन विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । जेठ १३ देखि १५ गतेसम्म सञ्चालन हुने कार्यक्रमहरूमा विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि सञ्चारकर्मीसमेतलाई समेटिने भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को अध्यक्षतामा प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । समितिमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा नेतृत्व, सुरक्षा निकायका प्रमुख तथा नेपाल पत्रकार महासङ्घ का प्रतिनिधिहरू सहभागी रहनेछन् ।
कार्यक्रम अन्तर्गत जेठ १३ गते विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिनेछ भने १४ गते रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । मुख्य समारोह भने जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा हुने तय गरिएको छ ।
यसैबीच गणतन्त्र दिवसको अवसर पारेर चार जना उत्कृष्ट पत्रकारलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय पनि गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ले जानकारी दिएका छन् ।















