मतदानमा ढिलाइ हुँदा रास्वपा बागमती अधिवेशन प्रभावित, प्रतिनिधि फर्किन थाले

हेटौंडामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया समयमै अघि बढ्न नसक्दा अधिवेशन अन्योलमा परेको छ। निर्वाचन समितिले मतदान प्रक्रिया सुरु गर्न ढिलाइ गरेपछि ठूलो संख्यामा प्रतिनिधि घर फर्किन थालेका छन्।

मंगलबार बिहानदेखि सुरु भएको अधिवेशन सोही दिन सम्पन्न गर्ने कार्यतालिका भए पनि बुधबार बिहानसम्म मतदान सुरु हुन सकेन। यसले प्रतिनिधिहरूमा असन्तुष्टि बढाएको छ। अधिवेशनस्थलमा रहेका एक प्रतिनिधिका अनुसार मतदान नहुँदा ७० प्रतिशतभन्दा बढी प्रतिनिधि फर्किसकेका छन्।

प्रदेश नेतृत्व चयनका लागि सभापति पदमा अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री प्रतिस्पर्धामा छन्। तर निर्वाचन प्रक्रिया लम्बिँदा नेतृत्व चयन अनिश्चित बनेको छ।

प्रतिनिधिहरूले निर्वाचन समितिको ढिलासुस्तीका कारण अधिवेशन प्रभावित भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार समितिले समयमै मतदानको व्यवस्था गर्न नसक्दा कार्यक्रम स्थगित हुने अवस्था सिर्जना भएको हो।

यता संगठन विभागका सचिव शंकर श्रेष्ठले भने मतदानमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया जारी रहेको बताएका छन्। उनका अनुसार उम्मेदवारको संख्या धेरै भएकाले मतपत्र छपाइमा समय लाग्दा मतदान ढिलो भएको हो।

करिब १,३०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बागमती अधिवेशन रास्वपाको प्रदेशस्तरीय पहिलो अधिवेशन हो। नेतृत्व चयन प्रक्रिया कहिले टुंगिने भन्नेबारे भने अझै स्पष्टता आएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.