राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापति पदका लागि चार जनाको उम्मेदवारी कायम भएको छ। पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि काभ्रेबाट निर्वाचित सांसद वदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा चार जनाबीच सीमित भएको हो।
निर्वाचन समितिले मंगलबार राति सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार रामेछापका हरिबहादुर खत्री, नुवाकोटका डा. अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल सभापति पदका उम्मेदवार छन्।
यद्यपि निर्वाचन कार्यतालिकाअनुसार मतदान प्रक्रिया अघि बढ्न सकेको छैन। बुधबार बिहानसम्म मतदान सुरु नभएपछि निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
यसैबीच प्रदेश सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दिएका छन्। खुला तथा समावेशी समूह (दलित, महिला र अल्पसंख्यक) सहित विभिन्न निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारहरूको वर्गीकरण गरिएको छ।
सदस्य पदमा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली र रामेछापका प्रतिनिधिहरू प्रतिस्पर्धामा छन्।
अन्तिम नामावली सार्वजनिक भइसकेकाले अब मतदान प्रक्रिया अघि बढाउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ। नेतृत्व चयनका लागि जारी अधिवेशनमा प्रतिनिधिहरू मतदानको प्रतीक्षामा रहेका छन्।
























