हेटौंडा, असार १० — मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि हेटौंडामा अज्ञात समूहबाट धारिलो हतियार प्रहार भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–५ स्थित टी टाइम क्याफे नजिक बुधबार राति करिब ११ बजे घिमिरेमाथि आक्रमण भएको हो। घटनामा उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते घिमिरेलाई तत्काल उपचारका लागि हेटौंडास्थित सहकारी अस्पताल पुर्याइएको छ। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थामाथि चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेका छन्।
घटनालगत्तै प्रहरीले आक्रमणमा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको छ। हालसम्म आक्रमणको कारण खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले घटनास्थल वरपरका व्यक्तिसँग सोधपुछ गर्नुका साथै उपलब्ध प्रमाण संकलन गरेर आक्रमणकारीको पहिचान तथा पक्राउका लागि खोजी अभियान अघि बढाएको जनाएको छ।
























