हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थी नेतृत्व चयनका लागि पहिलोपटक अनलाइन प्रणालीमार्फत निर्वाचन सम्पन्न गरेको छ।
बुधबार सम्पन्न निर्वाचनमा विद्यालय कप्तान पदमा रिजन जिम्बा ३ सय ३५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने विद्यालय उपकप्तान पदमा अस्मिता थिङ २ सय ५४ मतसहित विजयी हुनुभएको विद्यालयले जनाएको छ।
विद्यालयले यस वर्ष प्रविधिमैत्री अभ्यासलाई प्रोत्साहन गर्दै परम्परागत मतदान प्रणालीको सट्टा अनलाइन मतदानमार्फत निर्वाचन सञ्चालन गरेको हो। विद्यालय परिसरमा ६ वटा मतदान बुथ स्थापना गरी ल्यापटपमार्फत विद्यार्थीहरूले मतदान गरेका थिए।
विद्यालयका अनुसार कुल ६ सय ९७ मतदातामध्ये ६ सय ४७ जना विद्यार्थीले मतदान गरेका थिए। कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई उम्मेदवार र मतदाता बन्ने अवसर प्रदान गरिएको थियो। विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको ज्ञान अभिवृद्धि गर्ने तथा नेतृत्व चयन प्रक्रियाबारे व्यावहारिक अनुभव दिलाउने उद्देश्यले निर्वाचन आयोजना गरिएको विद्यालयले जनाएको छ।
निर्वाचनमा १८ पदका लागि ७२ जनाले उम्मेदवारी दिएका थिए। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो १ बजे सम्पन्न भएको थियो।
निर्वाचनबाट विभिन्न क्लब तथा सदनका कप्तान र उपकप्तानसमेत चयन भएका छन्। वातावरण क्लबको कप्तानमा आर्जन न्यौपाने र उपकप्तानमा आध्या कोइराला, फाइन आर्ट क्लबको कप्तानमा अन्जन यादव र उपकप्तानमा विदित न्यौपाने तथा साहित्य क्लबको कप्तानमा आश्रिका न्यौपाने र उपकप्तानमा प्रशंसा पौडेल निर्वाचित भएका छन्।
त्यस्तै खेलकुद क्लबको कप्तानमा रौनक सापकोटा तथा उपकप्तानमा सुविन खड्का चयन भएका छन्। रातो सदनको कप्तानमा सन्दर्भ दाहाल र उपकप्तानमा करण अग्रवाल, पहेँलो सदनको कप्तानमा आरोन बानियाँ र उपकप्तानमा वाङचु थिङ, निलो सदनको कप्तानमा अध्ययन चौलागाई र उपकप्तानमा आश्विक भट्टराई तथा हरियो सदनको कप्तानमा सुहान्स मुक्तान र उपकप्तानमा युनिशा थिङ निर्वाचित भएका छन्।
विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रमलाई शिक्षक तथा कर्मचारीहरूले निर्वाचन आयोगको भूमिकामा रहेर सफलतापूर्वक सञ्चालन गरेका थिए।
विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले अनलाइन निर्वाचनले विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार, नेतृत्व क्षमता र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगसँगै निर्वाचन प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गर्ने अवसर विद्यार्थीहरूले पाएको उल्लेख गर्नुभयो।
























