हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक कपडा उद्योगमा आगलागी भएको जस्तो देखिने दृश्यले केहीबेर उपस्थित सबैलाई झस्कायो। भवनबाट निस्किरहेको धुवाँ, आगोको लप्का, भित्र फसेका व्यक्तिहरूको उद्धारका लागि भइरहेको दौडधुप र बाहिर चिन्तित आफन्तहरूको भीडले वास्तविक विपद्को अनुभूति गराइरहेको थियो।
तर यो कुनै वास्तविक घटना भने थिएन। सम्भावित विपद्को अवस्थामा सुरक्षा निकाय र सरोकारवाला निकायहरूको तयारी तथा समन्वय क्षमता परीक्षण गर्न गरिएको संयुक्त कृत्रिम अभ्यास थियो।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा तथा मध्यपृतना हेडक्वार्टर हेटौंडाको व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो। अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न निकायको सहभागिता रहेको थियो।
अभ्यासका क्रममा आगलागी नियन्त्रण, भवनभित्र फसेकाहरूको उद्धार, घाइतेको प्राथमिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरणजस्ता गतिविधि प्रदर्शन गरिएको थियो। सहभागी निकायहरूले विपद्को समयमा आवश्यक समन्वय, स्रोत परिचालन र उद्धार प्रक्रियाको परीक्षण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीले विपद्का घटना हरेक वर्ष दोहोरिने भएकाले पूर्वतयारी र अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए। प्रदेश सरकारले विपद् प्रतिकार्य योजना तयार गरी सोहीअनुसार कार्यान्वयन गरिरहेको उनले जानकारी दिए।
यस्तै, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले विपद्को समयमा छिटो उद्धार र राहत व्यवस्थापन गर्न सके क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए। प्रदेश सरकार विपद्का बेला आवश्यक सहयोग र राहत उपलब्ध गराउन सदैव तयारी अवस्थामा रहेको उनको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संयुक्त अभ्यासले विपद् कुनै पनि बेला आउन सक्ने भएकाले त्यसको सामना गर्न सम्बन्धित निकायहरू सदैव तयारी अवस्थामा रहनुपर्ने सन्देश दिएको आयोजकले जनाएको छ।
























