हेटौंडा । हेटौंडा अस्पतालले हेमोडायलाइसिस सेवा विस्तार गरेसँगै डायलाइसिसका लागि प्रतीक्षामा रहेका सबै बिरामीलाई नियमित सेवामा समावेश गरेको छ। थप मेसिन जडानसँगै अब दैनिक ६० जनासम्म बिरामीलाई सेवा दिन सकिने भएको अस्पतालले जनाएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाईंका अनुसार यसअघि नियमित डायलाइसिस गराइरहेका १०२ जनासँगै प्रतीक्षा सूचीमा रहेका ११० जना बिरामीलाई पनि बुधबारदेखि सेवामा समेटिएको हो।
यसअघि मेसिन अभावका कारण अस्पतालले दैनिक ३५ देखि ४० जनासम्मलाई मात्र डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको थियो। प्रतीक्षामा रहेका बिरामीको उपचार तालिका तयार गरी सेवा सुरु गरिएकाले अब कसैले पनि पालो कुर्नु नपर्ने गुरागाईंले बताए।
अस्पतालमा रहेका १४ वटा हेमोडायलाइसिस मेसिनमध्ये पाँचवटा नियमित सञ्चालनमा नआउँदा अधिकांश दिन नौवटा मेसिनबाट मात्रै सेवा सञ्चालन हुँदै आएको थियो। प्रतिष्ठानले थप १६ वटा मेसिन खरिद गरेपछि सेवा विस्तार सम्भव भएको हो।
प्रतिष्ठानको २ करोड र बागमती प्रदेश सरकारको २ करोड रुपैयाँ गरी कुल ४ करोडको लगानीमा मेसिन थप गरिएको हो। अब २० वटा मेसिन नियमित डायलाइसिसका लागि, दुईवटा आकस्मिक सेवा, दुईवटा आईसीयू, दुईवटा एचआईभी तथा हेपाटाइटिस संक्रमितका बिरामीका लागि छुट्याइएको छ भने चारवटा मेसिन जगेडाका रूपमा राखिएको छ। हाल डायलाइसिस विभागमा २५ भन्दा बढी कर्मचारी कार्यरत छन्।
पत्नीको डायलाइसिस गराउन आएका हेटौंडा–११ का चन्द्रलाल तामाङले अस्पतालको सेवा विस्तार र स्वास्थ्यकर्मीको व्यवहारबाट आफूहरूलाई धेरै सहज भएको प्रतिक्रिया दिए।
हेटौंडा अस्पतालले तीन वर्षदेखि डायलाइसिस सेवा प्रदान गर्दै आएको छ। मेसिन अभावका कारण यसअघि धेरै मिर्गौला बिरामीले पालो कुर्नुपर्ने अवस्था थियो। अब भने पर्याप्त मेसिन उपलब्ध भएकाले कुनै पनि बिरामीले उपचारका लागि प्रतीक्षा गर्न नपर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता उत्सव चौलागाईंले बताए।-इकान्तीपुरबाट ।























