नेकपा एमालेभित्र पार्टी पुनर्गठन र रूपान्तरणको पक्षमा रहेका युवाहरूले ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको धारणा संकलन गर्न मत सर्वेक्षण सुरु गरेका छन्।
अभियान असार १२ गतेदेखि सुरु भई असार २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ। सर्वेक्षणका लागि गुगल फर्ममार्फत १८ वटा प्रश्न तयार गरिएको छ, जसमा स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले आफ्नो सुझाव दिन सक्ने व्यवस्था गरिएको छ।
अभियानका संयोजक गजेन्द्र थपलियाका अनुसार सर्वेक्षणको उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण तथा आन्तरिक लोकतन्त्रका विषयमा तल्लो तहसम्मका कार्यकर्ता र शुभेच्छुकको प्रत्यक्ष धारणा सङ्कलन गर्नु हो।
उनले गुगल फर्ममार्फत प्राप्त हुने सबै सुझाव गोप्य राखिने र त्यसबाट तयार हुने निष्कर्ष पार्टीलाई औपचारिक रूपमा बुझाइने बताए।
हाल एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलमार्फत चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गरिरहेको छ। तर उक्त प्रक्रिया सीमित नेता–कार्यकर्तामा केन्द्रित रहेको भन्दै तल्लो तहका कार्यकर्ता, समर्थक, शुभेच्छुक, स्वतन्त्र नागरिक तथा अन्य दलका इच्छुक व्यक्तिको समेत धारणा समेट्न यो अभियान सञ्चालन गरिएको थपलियाको भनाइ छ।
उनका अनुसार सर्वेक्षणबाट प्राप्त सुझाव उपाध्यक्ष थापा नेतृत्वको कार्यदललाई बुझाइनेछ। यसपटक सर्वेक्षणको नतिजा सार्वजनिक गर्ने तयारी पनि अभियानले गरेको छ।
यसअघि यही समूहले एमालेको विधान महाधिवेशनअघि ७० वर्षे उमेर हद, दुई कार्यकाललगायत विषयमा पनि मत सर्वेक्षण सञ्चालन गरी त्यसको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो।























