हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ।
शनिबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ र अर्थ सम्बन्धी प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। यससँगै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेट कार्यान्वयनको बाटो खुलेको छ।
उपसभामुख अप्सरा चापागाईँले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावमा सत्तारुढ दलका सांसदहरूले समर्थन जनाएका थिए भने प्रतिपक्षी सांसदहरूले विरोध गरेका थिए। बहुमतले समर्थन गरेपछि उपसभामुख चापागाईँले विनियोजन विधेयक र अर्थ विधेयक पारित भएको घोषणा गर्नुभयो।
बजेटमाथि छलफलका क्रममा सांसदहरू ईश्वर सापकोटा, सृजना सायजु र रत्नप्रसाद ढकालले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका थिए। उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटमा खर्च कटौती गर्न माग गरेका थिए।
प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएका ती सबै खर्च कटौतीका प्रस्ताव भने बहुमतले अस्वीकृत भएका छन्।
प्रदेश सरकारको बजेटमाथि असार १६ गतेदेखि निरन्तर छलफल हुँदै आएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र सुझावको जवाफ सम्बन्धित विभागीय मन्त्रीहरूले शुक्रबार र शनिबारको बैठकमा दिएका थिए।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो, जुन शनिबार प्रदेशसभाबाट बहुमतका आधारमा पारित भएको हो।























