हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ राहदानी प्रणाली कार्यान्वयनको तयारीस्वरूप असार २४ गतेदेखि २८ गतेसम्म जिल्लाभर राहदानी सेवा स्थगित हुने जनाएको छ।
कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार राहदानी विभागले असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेकाले चार दिनसम्म राहदानीसम्बन्धी सम्पूर्ण सेवा बन्द रहनेछ।
प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेलद्वारा जारी सूचनामा यसअघि राहदानीका लागि आवेदन दिएका तर विभिन्न कारणले आवेदन अस्वीकृत भई पुनः आवेदन गर्नुपर्ने सेवाग्राहीलाई असार २३ गते मङ्गलबार कार्यालय समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
त्यस्तै, राहदानी विभागबाट छपाइ भई जिल्ला प्रशासन कार्यालयमा आइपुगेका राहदानी पनि सोही दिनभित्र सम्बन्धित सेवाग्राहीले बुझिसक्न प्रशासनले अनुरोध गरेको छ।
प्रशासनका अनुसार असार २९ गतेदेखि नयाँ राहदानी प्रणालीमार्फत आवेदन दर्ता तथा अन्य सेवा पुनः नियमित रूपमा सञ्चालन गरिनेछ।























