नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत नेपालको वित्तीय प्रणालीलाई डिजिटल र आधुनिक बनाउने दिशामा नयाँ कदम अघि सारेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको २५औँ मौद्रिक नीतिमा व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित ‘पीयर टु पीयर (पीटुपी) लेन्डिङ’ सञ्चालनको सम्भाव्यता अध्ययन गरिने घोषणा गरिएको हो।
यो प्रणाली कार्यान्वयनमा आएमा ऋण लिन वा लगानी गर्न बैंक तथा वित्तीय संस्था नै अनिवार्य माध्यम बन्नुपर्ने अवस्था अन्त्य हुन सक्छ। डिजिटल प्लेटफर्ममार्फत ऋण चाहिने व्यक्ति र लगानीकर्ता सिधै जोडिने व्यवस्था विकास गर्ने लक्ष्य राष्ट्र बैंकको छ।
पीटुपी लेन्डिङमा ऋण लिने व्यक्तिको वित्तीय अवस्था, आम्दानी, ऋण तिर्ने बानी र विगतको कारोबारका आधारमा क्रेडिट स्कोर तयार गरिन्छ। यही स्कोरका आधारमा लगानीकर्ताले कसलाई ऋण दिने भन्ने निर्णय गर्न सक्नेछन्। राम्रो स्कोर भएका व्यक्तिले कम ब्याजदरमा ऋण पाउने सम्भावना रहन्छ भने कमजोर स्कोर भएका व्यक्तिले महँगो ब्याज तिर्नुपर्ने वा ऋण नै नपाउने अवस्था हुन सक्छ।
यो प्रणालीले विशेषगरी स्टार्टअप, साना उद्यमी तथा बैंकको पहुँचबाहिर रहेका व्यक्तिहरूलाई सहज रूपमा वित्तीय स्रोत उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, बैंकिङ प्रक्रियाको झन्झट, धेरै कागजपत्र र कडा धितोको आवश्यकता पनि कम हुन सक्छ।
तर, यसमा जोखिम पनि उत्तिकै छ। ऋण लिने व्यक्तिले रकम फिर्ता नगरेमा त्यसको प्रत्यक्ष असर लगानीकर्तामै पर्छ, किनभने पीटुपी प्लेटफर्मले ऋणको ग्यारेन्टी गर्दैन। प्लेटफर्मको भूमिका ऋणी र लगानीकर्ताबीच सम्पर्क गराउने माध्यमका रूपमा मात्र रहनेछ।
राष्ट्र बैंकले नेपालमा यस्तो प्रणाली लागू गर्ने विषयमा करिब दुई वर्षदेखि अध्ययन गर्दै आएको छ। यसअघि तयार पारिएको परामर्श दस्तावेजले पनि पीटुपी लेन्डिङ अघि बढाउनुअघि व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली, कर्जा सूचना केन्द्रको सुदृढीकरण तथा राष्ट्रिय परिचयपत्र वा प्यानसँग आबद्ध वित्तीय विवरणको पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।
नेपालमा कम्पनीहरूको क्रेडिट रेटिङ व्यवस्था भए पनि व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली अझै विकास हुन बाँकी छ। साथै, ठूलो जनसंख्या अनौपचारिक क्षेत्रमा आबद्ध भएकाले उनीहरूको वास्तविक आम्दानी र ऋण इतिहास अभिलेखीकरण गर्न चुनौती रहेको राष्ट्र बैंकको निष्कर्ष छ।
राष्ट्र बैंकको विश्वास छ कि आवश्यक पूर्वाधार तयार भएपछि पीटुपी लेन्डिङले नेपालको डिजिटल वित्तीय प्रणालीलाई नयाँ उचाइमा पुर्याउँदै वित्तीय पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।























