थाहा खानेपानी बोर्डको पानी पिउन योग्य, परीक्षणमा संक्रमण भेटिएन

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डमार्फत वितरण हुँदै आएको खानेपानी गुणस्तरीय र पिउन योग्य रहेको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ। वर्षायाममा पानीमा हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राख्दै गरिएको गुणस्तर परीक्षणमा वितरण भइरहेको पानीले आधारभूत सबै मापदण्ड पूरा गरेको हो।

बोर्डले व्यवस्थापन गर्दै आएका १४ वटा मुहान र ती मुहानबाट उपभोक्ताको धारासम्म पुग्ने पानीको नमुना संकलन गरी परीक्षण गराएको थियो। जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा गरिएको परीक्षणमा मुहानको पानीको गुणस्तर जस्तै अवस्था धारामा आउने पानीमा पनि कायम रहेको पाइएको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला गोपालीले जानकारी दिइन्।

परीक्षणका क्रममा पानीको भौतिक, रासायनिक र सूक्ष्मजीवसम्बन्धी तीनवटा मुख्य सूचकको मूल्याङ्कन गरिएको थियो। प्रतिवेदनअनुसार सबै नमुनामा पानीको धमिलोपन (टर्बिडिटी) ५ एनटीयूभन्दा कम रहेको छ, जुन राष्ट्रिय मापदण्डअनुसार सुरक्षित मानिन्छ।

त्यस्तै, पानीको अम्लियता–क्षारियता (पीएच) विभिन्न मुहानमा ७ देखि ७.५ सम्म मापन गरिएको छ। यो स्तर पनि पिउन योग्य पानीका लागि तोकिएको ६.५ देखि ८.५ को मापदण्डभित्र रहेको जनाइएको छ।

सबैभन्दा सकारात्मक पक्ष भनेको सूक्ष्मजीव परीक्षणमा कुनै पनि मुहान वा धाराको पानीमा कोलीफर्म जीवाणु नदेखिनु रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक इन्स्पेक्टर कन्जय कुमार चौधरीले बताए। उनका अनुसार यस्तो नतिजाले वितरण भइरहेको पानी आधारभूत रूपमा सुरक्षित रहेको पुष्टि गर्छ।

यद्यपि, परीक्षणका क्रममा पानीमा सक्रिय क्लोरिनको मात्रा अपेक्षाकृत कम पाइएको उल्लेख गरिएको छ। त्यसैले विशेषगरी वर्षायाममा थप सतर्कता अपनाउँदै पानी उमालेर मात्र पिउन जनस्वास्थ्य कार्यालयले उपभोक्तालाई आग्रह गरेको छ। यसो गर्दा पानीजन्य रोगको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने चौधरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.