मकवानपुरमा घरमै राहदानी सेवा प्रभावकारी, करिब २०० सेवाग्राहीले पाए सुविधा

सरकारले शासकीय सुधारअन्तर्गत सञ्चालन गरेको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ। हुलाक सेवामार्फत राहदानी घरमै पुर्‍याउने व्यवस्थाबाट हालसम्म करिब २०० सेवाग्राही लाभान्वित भएका छन्।

जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेका अनुसार घरमै राहदानी लिन चाहने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमै हुलाक सेवाका कर्मचारीमार्फत पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (PITS) प्रयोग गरी ५५ रुपैयाँ सेवा शुल्क बुझाउनुपर्ने व्यवस्था छ।

उनका अनुसार राहदानी विभागबाट राहदानी प्राप्त भएपछि जिल्ला हुलाक कार्यालयका कर्मचारीले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर सुरक्षित रूपमा राहदानी वितरण गर्ने गरेका छन्। यस व्यवस्थाले सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने झन्झट हटेको र सेवा प्रवाह थप सहज बनेको उनले बताए।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिक ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने योजना अघि बढाइएको हो। सोही योजनाअनुसार राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

सरकारले नागरिकमैत्री सेवा विस्तार र सरकारी सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरेको यो अभियानबाट मकवानपुरमा सकारात्मक परिणाम देखिन थालेको छ।रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.