पाङदुर क्षेत्रमा पहिरो खसेपछि काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध

ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो खसेपछि काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ।

लगातारको वर्षापछि सडकमा ठूलो परिमाणमा माटो र ढुंगा खसेपछि चापागाउँ हुँदै हेटौंडातर्फ जाने–आउने सवारी साधनको आवागमन पूर्णरूपमा रोकिएको प्रहरीले जनाएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण थप पहिरो खस्ने जोखिम कायमै रहेको छ।

वर्षायाम सुरु भएसँगै कान्तिलोकपथमा पहिरो, सडक भासिने तथा ढुंगा खस्ने समस्या दोहोरिँदै आएको छ। विशेषगरी पाङदुर, गिम्दीलगायतका क्षेत्रमा हरेक वर्ष सडक अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ।

कान्तिलोकपथ बन्द भएपछि हेटौंडा–काठमाडौं आवतजावत गर्ने यात्रु तथा चालकले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने भएको छ। छोटो दूरीका कारण यो मार्ग प्रयोग गर्दै आएका साना तथा मध्यम सवारी साधनलाई सडक बन्द हुँदा थप समय र खर्च व्यहोर्नुपर्ने अवस्था आएको छ।

वर्षायाममा पटक–पटक सडक अवरुद्ध हुने समस्या समाधानका लागि पहिरो नियन्त्रण, प्रभावकारी ढल निकास तथा कमजोर भूभागको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ।

प्रहरीले सडकको अवस्था सामान्य नभएसम्म अत्यावश्यक कामबाहेक कान्तिलोकपथ प्रयोग नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.