हेटौंडा । मकवानपुरको हेटौंडामा खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बन्दै जाँदा उपभोक्ताले दैनिक सास्ती व्यहोर्न थालेका छन्। बजारमा ग्यासको अभाव चुलिएपछि रित्ता सिलिण्डर बोकेर डिलरमा घण्टौं लाइन बस्नेको संख्या बढेको छ। कतिपय उपभोक्ता दिनभर पालो कुरेर पनि ग्यास नपाई खाली हात घर फर्किन बाध्य भइरहेका छन्।
स्थानीयका अनुसार केही समयअघिसम्म आधा भरिएका सिलिण्डरसमेत बजारमा आउने गरेकामा अहिले पूर्ण भरिएका सिलिण्डर मात्र वितरण हुन थालेपछि उपलब्ध हुने सिलिण्डरको संख्या घटेको छ। यसले हेटौंडाका अधिकांश डिलरमा ग्यास आउनेबित्तिकै केही घण्टामै सबै सिलिण्डर सकिने अवस्था सिर्जना भएको छ।
यस्तै, हेटौंडा–१० कर्रास्थित एक स्थानीय व्यवसायीले पनि ग्यास प्राप्त गर्न अहिले डिलरमै पुगेर लाइन बस्नुपर्ने बाध्यता रहेको बताए। पहिले सहज रूपमा ग्यास पाइन्थ्यो, अहिले भने डिलरमा गएर पालो कुर्नैपर्ने अवस्था छ, उनले भने, कहिलेकाहीँ लामो समय लाइन बसेपछि पनि सिलिण्डर नपाएर फर्किनुपर्छ।
ग्यासको अभावले घरधुरी मात्र होइन, होटल तथा साना व्यवसायसमेत प्रभावित भएका छन्। दैनिक खाना पकाउने काममै समस्या हुन थालेपछि उपभोक्ताले वैकल्पिक इन्धनको खोजी गर्नुपर्ने अवस्था आएको बताएका छन्।
ग्यास व्यवसायीहरू भने उद्योगबाट मागअनुसार आपूर्ति हुन नसकेकाले समस्या देखिएको बताउँछन्। पर्याप्त परिमाणमा ग्यास प्राप्त नभएकाले सबै उपभोक्तालाई समयमै वितरण गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।
यसअघि पनि देशका विभिन्न जिल्लामा आपूर्ति असन्तुलनका कारण एलपी ग्यासको अभाव देखिँदै आएको थियो। पछिल्ला दिनमा मकवानपुरमा समेत यही समस्या दोहोरिएपछि उपभोक्ताले आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले कृत्रिम अभाव हुन नदिन नियमित अनुगमन र सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।















