बागमतीको मुख्यमन्त्री बाँडफाँडमा नेकपाभित्र असन्तुष्टि, गंगानारायण श्रेष्ठले मागे नेतृत्वसँग जवाफ

हेटौँडा । बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने गरी सत्ता साझेदारीमा सहमति जुटेसँगै नयाँ सरकार गठनको बाटो खुले पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र भने नेतृत्व बाँडफाँडलाई लिएर असन्तुष्टि देखिएको छ।

बागमती प्रदेश सभामा नेकपाका मुख्यमन्त्रीका आकांक्षी गंगानारायण श्रेष्ठले पार्टी नेतृत्वसँग सार्वजनिक रूपमा जवाफ माग्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपाले मुख्यमन्त्री पद नपाएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेतृत्व बाँडफाँडको आधारबारे प्रश्न गरेका हुन्।

श्रेष्ठले प्रदेश सरकारको नेतृत्व कुन–कुन आधारमा बाँडफाँड गरिएको हो भन्ने विषय नेतृत्वले जनतासामु स्पष्ट पार्नुपर्ने बताएका छन्।

उनले कम्युनिस्ट आन्दोलन कमजोर बनेको वर्तमान अवस्थालाई स्वीकार गर्दै एमालेसँगको सहकार्यलाई अस्वीकार नगरे पनि सत्ता नेतृत्व बाँडफाँडको आधार भने ठोस र वैज्ञानिक हुनुपर्ने धारणा राखेका छन्।

श्रेष्ठले आफू सुरुदेखि नै बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबेदार रहेको स्पष्ट पार्दै मन्त्री पदका लागि भने आफ्नो कुनै दाबी नरहेको बताएका छन्।

नेकपा र एमालेबीच भएको सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। यही सहमतिपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने देखिए पनि नेकपाभित्रैबाट उठेको नेतृत्व बाँडफाँडसम्बन्धी प्रश्नले सत्ता समीकरणमा आन्तरिक असन्तुष्टि सतहमा ल्याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.