आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा देशभर श्रद्धा, सम्मान र कृतज्ञताका साथ मनाइँदै छ। ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुजनप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा यो पर्व मनाउने परम्परा रहिआएको छ।
महाभारतका रचयिता तथा वेदका संकलनकर्ता महर्षि वेदव्यासको जन्मजयन्तीको अवसरसमेत भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा पनि मनाइन्छ। वैदिककालदेखि नै गुरुको योगदानको स्मरण गर्दै गुरुपूर्णिमा मनाउने परम्परा निरन्तर चल्दै आएको छ।
यस अवसरमा शिष्यहरूले आफ्ना गुरुजनप्रति श्रद्धा व्यक्त गर्दै टीका, फूल, फलफूल, मिष्ठान्न तथा सम्मानका विभिन्न कार्यक्रम आयोजना गर्ने चलन छ। नेपाली समाजमा गुरुलाई आमा–बुबासरह सम्मान गर्ने संस्कार रहँदै आएको छ।
विद्यालय, क्याम्पस, गुरुकुल तथा विभिन्न सामाजिक र शैक्षिक संस्थाहरूले आज विशेष कार्यक्रम आयोजना गरी शिक्षा र संस्कार प्रदान गर्ने गुरुजनप्रति आभार व्यक्त गरिरहेका छन्।
धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिने उल्लेख गरिएको छ। त्यसैले गुरुपूर्णिमालाई केवल धार्मिक पर्व मात्र नभई ज्ञान, अनुशासन, संस्कार र मानवीय मूल्यप्रति सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि लिइन्छ।














