सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।
सञ्चार मन्त्रालयमा बुधबार आयोजित अन्तर–निकाय छलफलमा मन्त्री तिमिल्सिनाले सम्भव भएसम्म नेपाल टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका अधिकारी सहभागी थिए।
बैठकमा नेपाल टेलिकमका बेस ट्रान्ससिभर स्टेसन (बिटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा नियमित र भरपर्दो विद्युत् आपूर्ति नहुँदा देशका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित हुने गरेको विषयमा छलफल गरिएको थियो।
मन्त्री तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको भन्दै समस्या पहिचानमा मात्रै सीमित नरही त्यसको व्यावहारिक र नतिजामुखी समाधान खोज्न निर्देशन दिए।
टेलिकमका टावरमा विद्युत् पहुँच विस्तारका लागि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न उनले निर्देशन दिएका छन्।
मन्त्री तिमिल्सिनाले विगतमा अन्तर–निकाय समन्वय प्रभावकारी हुन नसक्दा समस्या देखिएको भन्दै अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउन आग्रह गरे।
सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले विद्युत् पहुँच नपुगेका टावरहरूको स्पष्ट तथ्याङ्क नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिए। उक्त तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरी विद्युत् विस्तारको योजना बनाउनुपर्नेमा उनले जोड दिए।















