पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा नेपाली कांग्रेसले तीन दिन शोक मनाउने भएको छ ।

ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ७९ वर्षको उमेरमा श्रेष्ठको निधन भएपछि बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक कार्यक्रम तय गरेको हो ।

कांग्रेसले श्रावण १३, १४ र १५ गते तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, श्रावण १४ गते बिहीबार पार्टीका सबै तहका कार्यालय बन्द गर्ने तथा श्रेष्ठको स्वर्गारोहणको १३ औँ दिनसम्म कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।

श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा उनको गृह जिल्ला स्याङ्जामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसले श्रेष्ठको निधनलाई पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भएको उल्लेख गरेको छ ।

वि.सं. २००४ साल असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । लोकतन्त्र स्थापना र पुनःस्थापनाका विभिन्न आन्दोलनमा सहभागी श्रेष्ठ तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति समेत बनेका थिए । उनी ऐतिहासिक १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक थिए ।

राजनीतिक संघर्षका क्रममा करिब ६ वर्ष जेल जीवन बिताएका श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य तथा २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत बनेका थिए ।रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.