आश्मान गोपालीको रहस्यमय मृत्यु घटना: ६ महिलासहित ८ जना प्रहरी नियन्त्रणमा

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेपछि प्रहरीले होटल सञ्चालकसहित आठ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलमा एक पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा टोली पुगेको थियो। घटनास्थल वरिपरि रगतसमेत देखिएकाले प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान सुरु गरेको जनाएको छ।

अनुसन्धानका क्रममा मृतक थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली रहेको खुलेको छ। उनको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति बुझ्न बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको विशेष अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।

प्रहरीले घटनासँग सम्बन्धित हुन सक्ने आशंकामा होटल सञ्चालक कमानसिंह माझीसहित आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये छ जना महिला रहेका छन्। उनीहरूसँग सोधपुछ भइरहेको र घटनाका सबै पक्षको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यता, स्थानीय बासिन्दा र मृतकका आफन्तले आश्मान गोपालीको हत्या भएको दाबी गरेका छन्। प्रहरीले भने पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट मात्रै घटनाको वास्तविक कारण खुल्ने बताएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजेश बतौलाका अनुसार होटलमा बसेका तथा शंकास्पद देखिएका व्यक्तिमाथि विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.