हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तीनदिने तालिम सुरु भएको छ।
प्रेम सेवा समाजको आयोजनामा सोमबारदेखि सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गरेका हुन्। कार्यक्रममा अध्यक्ष मुक्तानले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै सम्पूर्ण स्वास्थ्य सेवा तथा तथ्याङ्कलाई सूचना प्रणालीमा आबद्ध गरिएको बताए।
उनका अनुसार प्रत्येक वडाका स्वास्थ्य संस्थालाई सेवा प्रवाह र अभिलेख व्यवस्थापन सहज बनाउन ट्याब वा ल्यापटप उपलब्ध गराइएको छ। गाउँपालिकाभित्र सबै वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको र डाक्टरसहित १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा रहेको उनले जानकारी दिए।
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, आवश्यकताअनुसार बर्थिङ सेन्टर सञ्चालन तथा स्वास्थ्य र शिक्षामा भएका सुधारका कारण संघीय सरकारबाट प्राप्त हुने सशर्त बजेटसमेत वृद्धि भएको अध्यक्ष मुक्तानको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले प्रेम सेवा समाजले स्थानीय स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
तालिममा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, डाटा प्रविष्टि, तथ्याङ्क व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीको प्रयोग तथा अभिलेख व्यवस्थापनका विषयमा सहभागीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ।
समाजका अध्यक्ष मीरा स्याङ्तानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका पूर्वउपमेयर खड्ग गोपाली, प्रशिक्षक सुजन श्रेष्ठ, सीडीईईएफका कार्यक्रम संयोजक भवानी प्रधान, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम, प्रेम सेवा समाजका सचिव रामसिं प्रजा, कार्यक्रम संयोजक जानुका कान्दवालगायतको उपस्थिति रहेको थियो।
तालिममा कैलाश गाउँपालिकाको स्वास्थ्य शाखा तथा सबै वडाका स्वास्थ्य चौकीका प्रमुखहरूको सहभागिता रहेको छ।














