हेटौंडा । मकवानपुरका विभिन्न स्थानमा बुधबार भएका छुट्टाछुट्टै तीन सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका तथा मनहरी गाउँपालिकाका अलग–अलग क्षेत्रमा भएका दुर्घटनामा घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
हेटौंडा–१६ सिपालिचोकस्थित धरान–चतरा सडकखण्डमा साँझ करिब ७:०५ बजे मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीय वीरबहादुर रोका घाइते भए। ठुलोदमारबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेशको एएबी २५६१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका रोकालाई ठक्कर दिएको हो। उनको टाउको, दाहिने कुम, हात तथा दुवै खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनामा संलग्न मोटरसाइकल चालक बागमती–७ धन्साइका २४ वर्षीय प्रदीप घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, मनहरी–३ सुगौरास्थित भित्री सडकमा दिउँसो करिब २:३० बजे मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा २३ वर्षीया अनिता लो घाइते भइन्। सुगौराबाट बस्तिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४३ प ९४०१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको बा.९२ प ७३० नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। स्कुटरको पछाडि सवार लोको दाहिने खुट्टामा चोट लागेको छ। उनलाई उनका बुवा तथा स्कुटर चालक प्रेमबहादुर लो र मोटरसाइकल चालक कुमार लामाले मकवानपुर सहकारी अस्पताल पुर्याएका थिए।
त्यसैगरी, हेटौंडा–१५ रातोमाटेस्थित रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्री अगाडि बिहान करिब ९:३० बजे मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते भए। फारलाइनबाट रिद्धिसिद्धितर्फ आउँदै गरेको ना.२१ प ८२९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा रातोमाटेबाट भोर्लेतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २५२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–५ का करिब ५० वर्षीय महेश्वर अमात्यको ढाडमा भित्री चोट लागेको छ भने स्कुटर चालक हेटौंडा–१५ की ३२ वर्षीया माया तामाङको कुममा चोट लागेको छ। दुवैलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार तीनवटै घटनामा संलग्न सवारीसाधन तथा चालकसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक जाँचमा चालकहरूले मदिरा सेवन नगरेको र आवश्यक कागजातसमेत दुरुस्त रहेको पाइएको छ। दुर्घटनाबारे सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन्।















