आज साउन १५ अर्थात् नेपाली समाजमा परम्परागत रूपमा खीर खाने दिन मनाइँदै छ। असार १५ मा दही–च्यूरा खाने चलनजस्तै साउन १५ मा खीर खाने परम्परा पनि नेपाली संस्कृति र जीवनशैलीसँग गहिरोसँग जोडिएको मानिन्छ।
वर्षायाममा तातो खीर सेवन गर्दा स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण यो परम्परा पुस्तौंदेखि निरन्तर चल्दै आएको हो। दूध, चामल, साबुदाना, सेवई, गाजरलगायत सामग्री प्रयोग गरी बनाइने खीरले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने जनविश्वास रहेको छ।
संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्त्विक भोजनमध्ये उत्कृष्ट मानिन्छ। वैदिक परम्पराअनुसार पितृकार्य तथा देवकार्यमा समेत खीरलाई विशेष महत्वका साथ अर्पण गर्ने प्रचलन रहेको छ।
नेपाली समाजमा मौसमअनुसार शरीरलाई आवश्यक पोषण र ऊर्जा उपलब्ध गराउने उद्देश्यले विभिन्न चाडपर्व र तिथिमा फरक–फरक परिकार खाने परम्परा विकास भएको मानिन्छ। यही परम्पराअनुसार अक्षय तृतीयामा सातु, असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, तीजमा कर्कलोको गाभा, जनैपूर्णिमामा क्वाँटी, हरिबोधनी एकादशीमा पिँडालु र सखरखण्ड, मंसिर पूर्णिमामा यमरी तथा पुस १५ मा घिउ–खट्टेजस्ता परिकार खाने चलन आज पनि कायम छ।
साउन १५ को खीर खाने परम्पराले नेपाली संस्कृति, मौसमी आहार र स्वास्थ्य सचेतनालाई एकैसाथ जोड्ने मौलिक पहिचानका रूपमा निरन्तरता पाउँदै आएको छ।














