हेटौंडा । भारतको पश्चिम बंगालस्थित कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले विजयी सुरुआत गरेको छ।
मुनसोङ स्पोर्ट्स एसोसिएसन क्लबको आयोजनामा शुक्रबार सम्पन्न राउन्ड अफ–३२ अन्तर्गतको खेलमा हेटौंडा फुटबल एकेडेमीले घरेलु टोली सिक्किमको माम्रिङ ब्वाइज क्लबलाई ८–१ को फराकिलो अन्तरले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलभर आक्रामक प्रदर्शन गरेको हेटौंडा एकेडेमीले माम्रिङको रक्षापंक्तिलाई लगातार दबाबमा राख्दै गोलको वर्षा गर्यो। घरेलु टोलीले एक सान्त्वना गोल फर्काए पनि त्यसपछि खेलमा फर्किन सकेन।
हेटौंडाको जितमा अंकित आले मगर सर्वाधिक चम्किए। उनले चार गोल गर्दै टोलीको सहज जितमा महत्वपूर्ण योगदान दिए। सन्तोष गोङ्बाले एक गोलबाट खाता खोले भने दिलन लिम्बुले एक तथा पवन पाख्रिनले दुई गोल गरे।
यो जितसँगै हेटौंडा फुटबल एकेडेमीले अन्तिम १६ मा हाइल्याण्ड वारियर्ससँगको भेट पक्का गरेको छ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन्। उत्कृष्ट खेलाडीहरूका लागि पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
जुलाई २६ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल अगस्ट १५ अर्थात् भारतको इन्डिपेन्डेन्स डेका दिन हुनेछ। हेटौंडा फुटबल एकेडेमीले पछिल्ला वर्षहरूमा सिक्किम क्षेत्रमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा नियमित सहभागिता जनाउँदै आएको छ।















